दिई नसक्नुको संसार


अस्ति साथीसँग हजार रुपैयाँ सापटि लिएको थिएँ।

आज उसलाई फिर्ता दिएँ।


त्यसपछि क-कसलाई के-के दिन बाँकी छ?

र को-कोसँग के-के लिन बाँकी छ? भनेर सोच्दै थिएँ।


लिन बाँकी त सबै मिलिसकेकै रहेछ।

अब दिन बाँकी यस्सो सोच्दा,

पैसा दिन बाँकी पनि रहेनछ।


तर यो दिई नसक्नुको जीवनमा,

क-कस्लाई के-के दिन बाँकी छ भनेर अलि विचार गर्दा,

बुवालाई दिन बाँकी रहेछ,

आमालाई दिन बाँकी रहेछ,

हजुरआमालाई दिन बाँकी रहेछ,

बहिनीलाई दिन बाँकी रहेछ,

अनि अरू धेरैलाई पनि दिन बाँकी नै रहेछ।


अनि यो प्रकृतिलाई पनि दिन बाँकी रहेछ।

यति मनमोहक छ प्रकृति आफैँमा,

तर पनि किन दिनुपर्ने जस्तो लागेको होला?

दिनैपर्ने भएरै नै त होला।


सोच्दै जाँदा त त्यही साथीलाई पनि दिन बाँकी रहेछ,

सापट त फिर्ता गरे तर उसले दिएको विश्वास,हाँसो र भरोसा,

त्यो त आजपनि फिर्ता दिन बाँकी नै रहेछ।


अस्ति सुसेली हाल्दै मलाई बोलाएको, त्यो बगिरहेको खोला,

"अब त दे!"- भनेर नै त होला,

अस्ति त्यो वर्षाको थोपाले गालामा हिर्काएको,

त्यो हावाले पछ्याएको,

अनि त्यो बादल गड्याङ्गुडुङ् गर्दै रिसाएको..

होला होला, त्यही दिनैपर्ने भएर नै होला।


ल दिनुपर्यो, के दिऊँ म यसलाई भनेर सोच्दै थिएँ।

यति भरिपूर्ण, यति सम्पन्न प्रकृतिलाई,

आखिर दिऊँ नै त म के?


सधैँ दिनबाँकी र लिनबाँकीको हिसाब फछ्र्यौट गर्ने म,

आज भने लाउन सकिन केहि पार।

त्यसैले त सकिँदैन, जति दियो उति नै बाँकी रहन्छ,

यही नै त हो, दिई नसक्नुको संसार।


- क्षितिज कुँवर, २०२६ ।